Logo
७ पुस २०८१, आईतबार
(December 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरवारमार्गमा कांग्रेसी युवाको गुण्डागर्दी, तरुण दल र नेविसंघका नेताहरु पक्राउ

काठमाडौं । दरबारमार्गमा भएको एक कुटपिटको घटनामा सत्तारुढ नेपाली कांग्रेससम्बद्ध युवाहरू पक्राउ परेका छन् । जय नेपाल रोडमा सञ्चालित लिक्विड लाउञ्ज बारमा ‘गुड फ्राइडे’ मनाएर घर फर्किन लागेका बैतडीका रमेश भट्टमाथि कुटपिट हुँदा नेपाल तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, काभ्रेका जिल्ला अध्यक्ष सुजन लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका प्रत्यक्षदर्शी नवीन वाइबाका अनुसार शुक्रवार राति नै बारमा पुगेका भट्टले आफू गृहमन्त्री रमेश लेखकको भाञ्जा भनी परिचय दिएका थिए । बिहान करिब पौने ३ बजे काभ्रे तरुण दलका नेताहरू त्यहाँ पुगे । पुग्ने बित्तिकै उक्त बारका सञ्चालक सञ्जीव लामा (स्याल) ले भट्टको परिचय दिए । नाम सुन्नासाथ सुजनले ‘हावा कुरा गर्ने ? फुर्ती लगाएको हो ?’ भन्दै उनी गृहमन्त्रीको भाञ्जा भएको कुरा अस्वीकार गर्दै थिए । पिसाब फेर्नका लागि भट्ट शौचालय गए । निस्किनेबित्तिकै सुजन, कूलध्वजसहितको समूहले भट्टमाथि हातपात गरेको थियो ।

‘धारिलो हतियार प्रयोग भएको छ, घाइतेको खप्पर फुटेको थियो’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । घाइते भट्ट खतरामुक्त छन् । उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।

घटनाको खबर पाउनासाथ प्रहरी वृत्त, दरबारमार्गको टोली त्यहाँ पुगेको थियो । ‘हामीले कुटपिटमा संलग्न मानिस पहिचान गरी नियन्त्रणमा लियौँ, त्यसपछि जिल्ला प्रहरी परिसरलाई बुझाइदियौँ’, दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले भने । अहिले पक्राउ परेका ६ जनाका विरुद्ध परिसरले मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार घाइते भट्ट पेशाले आइटी इञ्जिनियर हुन् । एक निजी कम्पनीमा काम गर्ने उनी काठमाडौं, कलंकीमा गृहमन्त्री रमेश लेखकको घर नजिकै बस्छन् । उनी गाउँले नाताले मात्रै मन्त्रीका भाञ्जा पर्ने हुन् ।

उनीमाथि आक्रमणमा संलग्न तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, जिल्ला अध्यक्ष सुजन लामा गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका तीर्थ लामा र दावा लामाहरूसँग निकट रहेको प्रहरीले जनाएको छ । तीर्थ नेपाली कांग्रेसका तर्फबाट दोस्रो संविधानसभा सदस्य र अहिले प्रदेशसभा सदस्य छन् ।

दावा ०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट भुम्लु गाउँमा पालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । त्यसअघि उनी तरुण दलका जिल्ला अध्यक्ष थिए ।

गाउँपालिका उपाध्यक्ष भएपछि उनैले सुजनलाई संगठनको पद हस्तान्तरण गरेका हुन् । सोही घटनामा पक्राउ परेका तिमाल- ७ का २९ वर्षीय मिलन लामा धोविचौरस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु उपसभापति निर्वाचित भएका व्यक्ति हुन् । तर, घटना उनीहरूको प्रत्यक्ष निर्देशनमा नभएको प्रहरीले जनाएको छ । ‘उहाँहरूसँग निकटता देखिन्छ’, स्रोतले बतायो ।

कूलध्वज तीर्थकै गाउँपालिका रोशी, महादेवटारका बासिन्दा हुन् । काठमाडौंको बौद्धस्थित सुन्दरटोलमा बस्ने उनी बर्गर हाउसका सञ्चालक पनि हुन् । २०६९ सालमा दरबारमार्गमा सञ्चालित प्लाटिनम क्लबमा एक कर्णेलका छोरामाथि सांघातिक आक्रमण गरेपछि उनीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

०७२ सालमा डाँका चोरी मुद्दामा ११ महिना धुलिखेलस्थित जिल्ला कारागारमा सजायँ भुक्तान गरेका थिए । तरुण दलका जिल्ला अध्यक्ष सुजन भुम्लु ४ का बासिन्दा हुन् । उनीविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता छ । राजन श्रेष्ठको जाहेरीले दर्ता भएको उक्त मुद्दामा उनी फरार थिए ।

शनिबारको घटनामा पक्राउ परेका काभ्रे, भुम्लु-५ का सुलभ पहारी तरुण दलको गाउँपालिका अध्यक्ष हुन् । तेमाल-५ का २९ वर्षीय युवराज लामा तरुण दलका जिल्ला सदस्य हुन् । सोही घटनामा संलग्न मोरङ, उर्लाबारी- ७, स्कुलडाँडाका३७ वर्षीय डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकको जुगल- १०, सेलाङका २७ वर्षीय दावा तामाङ, काभ्रेको तेमाल-५ नारायणाथनका २१ वर्षीय शक्ति लामा पनि संलग्न रहेका कारण पक्राउ परेका छन् ।

उनीहरू विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा अगाडि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

 

 

प्रकाशित मिति: Dec 22, 2024

प्रतिक्रिया दिनुहोस्