दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर गराइएको हो ।
उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर उक्त निवेदन खारेज भएको थियो । सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।