Logo
७ पुस २०८१, आईतबार
(December 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको आरोप लागेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् ।  झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।

उच्च अदालतले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा आज पेसी तोकिएको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी परेको थियो । रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको छ। यो सँगै झाको मुद्दा अब सर्वोच्चमा सुरु भएको छ।

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो ।  जिल्ला अदालत काठमाडौँले  थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश  सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले  पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते  जिल्ला अदालत काठमाडौँले थुनामा  पठाउने आदेश  गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काँग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।

प्रकाशित मिति: Dec 20, 2024

प्रतिक्रिया दिनुहोस्