Logo
७ पुस २०८१, आईतबार
(December 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान भन्छन्, ‘ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन, नाफा खान हल्ला चलाएका हुन्’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै हालतमा पनि लोडसेडिङ नहुने बताएका छन् । काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रममा बोल्दै घिसिङले केहि प्राविधिक समस्याका कारण केहि घण्टा विद्यूत आपूर्ति नहुँदा लोडसेडिङको हल्ला चलाएर केहि व्यक्तिले नाफा उठाउन खोजेको बताए ।

लोडसेडिङ हुँदा खुशी हुने जमात पनि रहेको दाबी गर्दै घिसिङले केहि उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर सामानको भाउ बढाउन थालेको सुन्नमा आएकाे बताए । उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरे । उनले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ’।

घिसिङले २–४ दिन प्राविधिक समस्या हुँदा लोडसेडिङको हल्ला गर्न लागिएको गुनासो गरे । अहिले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताउँदै उनले भने, ‘हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन, डेडिकेटेड ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो’।

प्रकाशित मिति: Dec 20, 2024

प्रतिक्रिया दिनुहोस्