कर्मचारीको पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनको प्रस्ताव
३ पुस, काठमाडौं । निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थाको प्रस्ताव आएको छ ।
बुधबार संघीय निजामती विधेयकमाथिको छलफलमा यस्तो प्रस्ताव आएको हो । हाल निजामती कर्मचारीले सम्पत्ति विवरण निजामती किताब खानामा बुझाउनुपर्ने ब्यवस्था छ । यसलाई बदलेर सम्पत्ति विवरण सार्वजनिक नै गर्नुपर्ने कानुन बनाउनुपर्ने नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादर घर्तीले प्रस्ताव राखेका छन् ।
‘कर्मचारीले सम्पत्ति विवरण पेश गरेर मात्रै हुदैन, त्यो विवरण सार्वजनिक गर्नुपर्छ । यो प्रावधान राख्नुपर्छ,’ समितिको बैठकमा सांसद घर्तीले भने ।
निजामती विधेयकमाथी संसोधनकर्ता सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ । ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।