टुकुचाको दायाँबायाँ चार मिटर करिडोर निर्माण गर्न काठमाडौंका जनप्रतिनिधिको माग
२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताए ।
काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार/चार मिटरको मापदण्ड तोकेको छ ।
काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए ।
६२० मिटर क्षेत्रमा छ देखि सात वटा घर भने नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताउँछन् ।
यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ ।
काठमाडौँ महानगरपालिका–२८ ले शंकरदेव क्याम्पसअघिको करिब १०० मिटर क्षेत्रमा पनि कोरिडोर खुला गरेको छ । वडा नं २८ मा रहेको समाज कल्याण परिषद्को जग्गामा भने अहिलेसम्म कोरिडोर निर्माण हुन सकेको छैन । वडा नं २८ को सबै भागमा कोरिडोर निर्माण हुनुपर्छ भन्ने स्थानीयवासीको माग रेहको वडा अध्यक्ष भाइराम खड्गी बताउँछन् ।
वडा नं ११ को भद्रकाली प्लाजामा पनि करिब १०० मिटर इच्छुमती कोरिडोर खुला छ । बाँकी भागमा धेरै जग्गा सरकारी कार्यालयको पर्ने वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार बताउँछन् । सरकारी कार्यालयलाई ठाउँ छाडेर राजधानीको बीच भाग पारेर कोरिडोर बनाउनुपर्छ भन्ने विचार आफूले तत्कालीन महानगरपालिका सभामा विसं २०४९ देखि नै राख्दै आएको उनको भनाइ छ ।
नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने इच्छुमती धेरै फोहर भएको वडाध्यक्ष तण्डुकार बताउँछन् ।
राजधानीका नदीमा तीनै तहका सरकार मिलेर कोरिडोर निर्माण गर्न सके नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
बागमती, रुद्रमती (धोबीखोला), विष्णुमती, मनोहरालगायत नदी किनारमा बनेको कोरिडोरले सहज यातायात सुविधा दिएको छ । कोरिडोर निर्माण भएकै कारण नदीमा फोहर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताउँछन् । इच्छुमतीको सफाइका लागि पनि कोरिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ ।
इच्छुमती महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोरमा दुई पांग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।