विराटनगरबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
काठमाडौँ : धादिङको सिम्लेस्थित खयरघारीमा यात्रुबस दुर्घटना भएको छ । विराटनगरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७६८७ नम्बरको उदिता यातायातको यात्रुबाहक बस आइतबार साँझ खयरघारीमा दुर्घटना भएको हो । दुर्घटना भएपछि गाडी भित्र रहेका सबै यात्रु घाईते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार सिम्ले खयरघारीमा रहेको एक होटलमा खाना खाएर गाडी फर्काउने क्रममा उक्त बस सडकबाट त्रिशुली नदीमा खसेको हो । बसमा करिब ४५ जना यात्रु सवार थिए । एक यात्रुले दिएको जानकारी दिएअनुसार बस दुर्घटना हुँदा केही यात्रु खाना खाने होटलमै थिए भने अन्य केही मात्र बसभित्र रहेका थिए ।
घाईते मध्ये बस चालक र एकजनाको अवस्था गम्भिर रहेको बताइएको छ । बस कसरी सडकबाट त्रिशुलीमा खसेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता यात्रुहरुले भने चालकले लामो समयसम्म आरामै नगरी बस चलाएको बताएका छन् ।