Logo
२० मंसिर २०८१, बिहीबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन मन्त्रालय र अख्तियारको नम्बर प्लेट राखेर गाँजा तस्करी

१९ मंसिर, विराटनगर । सेतो नम्बर प्लेट राखिएका दुई वटा गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

एक जना भने अझै फरार छन् । प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरेको थियो ।

प्रहरीका अनुसार बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बर प्लेटको सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद भएको हो ।

गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिए । ‘निजी गाडीलाई नक्कली सरकारी नम्बर प्लेट राखिएको छ,’ उनले भने, ‘यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

तस्करको समूहले यसअघि एम्बुलेन्स, इन्धन बोक्ने ट्यांकरमा पनि गाँजा तस्करी गरेको थियो । पछिल्लो समय सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट गाडी मंगलबार साँझ नियन्त्रणमा लिएको थियो ।

सवारीसाधनहरू चेकजाँचका क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडी भागेपछि प्रहरीले गोली चलाएको थियो । यो गाडीलाई धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएका थिए ।

सरकारी नम्बर प्लेट राखिएको ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार तस्करको समूहले संघीय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।

‘यी नम्बर प्लेटका गाडी संघीय कानुन मन्त्रालय र अख्तीयारमा प्रयोग भइरहेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘चेकजाँच नहुने भएकले तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिन्छ ।’

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्