Logo
२० मंसिर २०८१, बिहीबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोमाञ्चक खेलमा काठमान्डुले कर्णालीलाई हरायो

१९ मंसिर, काठमाडौं। काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गर्‍यो । काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।

४१ रनमा ४ विकेट जाँदा छैटौं नम्बरमा क्रिजमा प्रवेश गरेका सुमितले पाँचौ विकेटका लागि जेरार्डसँग ५७ रनको साझेदारी गरेका थिए । त्यसपछि सुमित र कप्तान करणले छैटौं विकेटका लागि छिटो ४५ रनको साझेदारी गरे ।

करणले विष्फोटक ब्याटिङ गर्दै १० बलमै २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे । करणको इनिङ्स नै खेलको जितको आधार बन्यो ।

दोस्रो अन्तिम ओभरको अन्तिम बलमा करण छक्का प्रहार गर्ने चक्करमा देव खनाको सानदार क्याचमा आउट भएपछि काठमान्डुलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो ।

अन्तिम ओभरको पहिलो बल वाइड भएपछि सुमित महर्जनले त्यसमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए । त्यसपछि २ रन लिने चक्करमा रासिद खान रनआउट भए । अनि तेस्रो बलमा सुमितले चौका प्रहार गर्दै जित दिलाए ।

बलिङमा कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपिन शर्माले समान १/१ विकेट लिए ।

त्यसअघि शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । पहिलो खेलमा १४ रनमै आउट भएका धवनले काठमान्डु विरुद्ध ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।

एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।

यस्तै चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । पहिलो जितपछि काठमान्डुले २ खेलबाट २ अंक जोडेको छ ।

पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको भने यो लगातार दोस्रो हार हो ।कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्