Logo
१३ मंसिर २०८१, बिहीबार
(November 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६४ लाख थान राहदानीका लागि टेन्डर आह्वान

१३ मंसिर, काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि विभागले नयाँ टेन्डर गरेको हो ।

बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको छ । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ ।

दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् ।

विभागमाथि अहिले चालु ठेक्का भेरिएसन गरेर संलग्न कम्पनीलाई थप काम दिन चरम दबाब थियो । २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

यो ठेक्काअनुरूप आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटीलाई २० लाख मात्रै पासपोर्ट छपाइ भए पछि २ असार २०८०को मन्त्रिपरिषद्‍को निर्णयअनुसार थप २८ लाख पासपोर्ट सोही ठेक्का भेरिएसन गरेर छाप्न दिने निर्णय भएको थियो ।

अब फेरि त्यसैगरी दोस्रो पटक २० लाख पासपोर्ट छाप्ने गरी ठेक्का भेरिएसन गर्न दबाब भएपछि विभागले ढिला गरी पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो ।

नयाँ ठेक्का चाहने र नचाहने स्वार्थ समूहहरूको कलहका बीच गत बुधबार पासपोर्टको सेवा नै अवरुद्ध हुने गरी साइबर आक्रमण भएको थियो । ५ दिन सबै सेवा बन्द गरेको विभागले अहिले पनि जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगहरुबाट सेवा दिन सकेको छैन । भेरिएसन गर्दा प्रणालीमाथि नै खतरा उत्पन्न हुने देखेपछि विभागले नयाँ ठेक्का गरेको हो ।

हाल विभागसँग करिब १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दातमा छ । विभागले मासिक औसत १ लाखको पासपोर्ट छपाइ गरेर वितरण गर्दै आएको छ । यस्तो अवस्थामा अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्था छ । अब नयाँ टेन्डर प्रक्रिया पूरा भएर कहिलेसम्म खरिद सम्झौता हुन्छ भन्ने यकिन छैन ।

विभागका महानिर्देशक तीर्थराज अर्याल ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पुर्‍याएर छिट्टै सम्झौता हुने बताए । ‘कसरी ठेक्का लाग्छ भन्ने कुरा सबै कुरा टेन्डरमै स्पष्ट छन्,’ उनले भने,‘पासपोर्ट देश र जनताका लागि महत्वपूर्ण र सम्वेदनशील भएकाले यसलाई सबैले आफ्नो विषय मान्नुपर्छ ।’

हेर्नुहोस् टेन्डर आह्वानको पत्र : 

प्रकाशित मिति: Nov 28, 2024

प्रतिक्रिया दिनुहोस्