दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको थियो ।
सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ ।
प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।
प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।