जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
३ मंसिर, जनकपुरधाम । जनकपुरधामको संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएको छ ।
छात्रवृत्तिमा अध्ययनको शुल्को विषयलाई हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरुको माग छ ।
सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरुले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ ।
‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुन: २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने..’ तीनवटै वटै संगठनले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भतरपुर, विराटनगर, बुटवललगायतकै स्थान जस्तै शुल्क लिन दिन कात्तिक २९ गते जनकपुरधाम उपमहानगरका नगर प्रमुखलाई अनुरोध गर्दा केही पहल नभएकोले तीनवटै संस्थासँग आवद्ध विद्यालयहरु बन्द गर्न बाध्य भएको संगठनहरुको भनाइ छ ।