Logo
३० चैत्र २०८१, आईतबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम छैनन् ‘रामप्रसाद मोच्छु’ : कांग्रेसको गढमाथि धाँवा बोल्दै

इनरुवा :  आफ्नो लामो राजनीतिक जीवनमाथि कांग्रेसले खेलवाड गरेको भन्दै मनोनयन दर्ताको चटारोमा नेकपा एमालेमा प्रवेश गरेर सुनसरी प्रदेश निर्वाचन क्षेत्र २ (२) मा उम्मेदवार बनेका नेपाली कांग्रेसका उपसभापति रामप्रसाद मेहता ‘रामप्रसाद मोच्छु’ ले उम्मेदवार भएसँगै कांग्रेसको गढमाथिको आक्रमणलाई तिब्र पारेका छन ।

उनी अहिले कांग्रेसको गढ मानिएको यो क्षेत्रको दक्षिणवर्ति क्षेत्रहरुमा सक्रिय बनेका छन । उनी इनरुवा देखि दक्षिण देवानगञ्ज गाउँपालिकाको क्षेत्रमा बढी केन्द्रीत रहेको पाईएको छ । एमालेको सांगठनिक स्थिति तुलनात्मक रुपमा कमजोर देखिएको सो क्षेत्र मेहता समूदायको बाहुल्यता रहेकोेले आफ्ना नातेदार, ईष्टमित्र बढी भएको र कांग्रेसमा रहँदा आफूले त्यसक्षेत्रको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोकारण आफू सो क्षेत्रमा बढी क्रियाशिल रहनु परेको मेहता बताउँछन ।

मेहता भन्छन– इनरुवासम्म आउँदा बामगठबन्धनको मत कांग्रेस भन्दा बढी हुन्छ । दक्षिणका गाविसमा पनि माहौल तिब्र बनिरहेको छ । यसले बामगठबन्धनका सबै उम्मेदवारको जितको आधार तयार पारेको छ । मेहताकै अगुवाईमा दक्षिणवर्ति गाविसहरुमा अहिले नेकपा एमाले प्रवेशको लहर नै चलेको छ । बुधवार कप्तानगञ्जमा आयोजित कार्यक्रममा ति क्षेत्रका प्रभावशाली विभिन्न दलका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

मेहतासहित नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्य, नेताहरु धर्मराज निरौला, खेमराज पोखरेल, पोष्ट नेपाल, नन्द बस्नेत, रमेश बस्नेत, रेवती रमण भण्डारी, माओवादी नेतृ रामकुमारी चौधरी र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी (हिमाल)ले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । एमाले प्रवेश गर्नेहरुमा फोरम लोकतान्त्रिकका जिल्ला सदस्य बद्री मेहता, राप्रपाका क्षेत्रीय अध्यक्ष हंशराज मेहता, पिछडावर्गका जिल्ला अध्यक्ष कृष्ण मेहतासहित करिब २ सय जना एमालेका प्रवेश गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै मेहताले आफ्नो सम्पूर्ण जीवन कांग्रेसमा खर्चिएपनि आफूलाई अन्याय गरेकोले आफू एमालेमा प्रवेश गरेको स्पष्ट पार्दै जिन्दगी भर कांग्रेसको झण्डा बोकेर जनताप्रतिको कर्तब्य निर्वाह गर्ने अवसर नपाएपनि एमालेको झण्डा बोकेर आफूले जनताप्रतिको कर्तब्य निर्वाह गर्ने बताए ।

त्यस्तै मंगलबार मेहताले साविकको बबिया गाविस वडा नम्बर २ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु लक्ष्मी मेहता, देबेन्द्र मेहता, गंगाराम मेहता, शिवनारायण मेहता, जितन मेहता, सञ्जय मेहता, विन्देश्वर मेहता, रामभजन मेहता, लक्ष्मण मेहता, रामदेब मेहता, गंगाराम मेहता, महेन्द्र मेहता, रामलखन मेहतासहित करिब १०० जना एमालेमा प्रवेश गराएका थिए । एमालेका अनुसार एक दुई दिनमा साहेबगञ्ज, गौतमपुरमा पनि पार्टी प्रवेश कार्यक्रमको तयारी भईरहेको छ ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्