Logo
८ मंसिर २०८१, शनिबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलभित्रको आफ्नै टहरामा मनाङे, साथी छन् विकल पौडेल

काठमाडौं । ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार) चलान गरिएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा बसेका छन् ।

मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले शुरूमा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा र त्यसपछि उच्च अदालत पाटनमा पेश गरेको थियो । अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागार चलान भएका हुन् ।

कारागारमा हाजिर गराइनासाथ उनले त्यहाँको ब्लक ‘ख’ नै रोजे, जहाँ आफैँले बनाएको दुई कोठे सुविधासम्पन्न टहरा छ । कारागारभित्र मनाङेका साथी भएका छन्, सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) घोटाला प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ।

‘हामीले उहाँहरूलाई चाहेको ब्लकमा राख्नेसम्मको कुरा गछौं’, जेलर पूर्णबहादुर खत्रीले भने, ‘ब्लकभित्रको कुन कोठामा कसरी राख्ने भन्ने कुरा आन्तरिक प्रशासनले मिलाउने हो ।’

उनका अनुसार, जेलभित्रका नाइके, भाइ नाइके रहने आन्तरिक प्रशासनले कैदी, बन्दीलाई कहाँ, कसरी राख्ने भन्ने निधो गर्छ । कारागारस्रोतका अनुसार गुरुङलाई तोकिएको पाँच वर्षको कैदलाई सर्वोच्च अदालतले सदर गरेकै दिनदेखि उनले बनाएको टहरामा बसेका कैदीले ठाउँ खाली गर्ने मनस्थिति बनाएका थिए ।

‘उहाँ आउने कुरा निश्चितै थियो, आएपछि बस्ने ठाउँ यही हो भन्ने पनि हामीलाई थाहै थियो’, आन्तरिक प्रशासनका एक सदस्यले बताए ।

मनाङे कारागाभित्र रहँदा शारीरिक व्यायाम (जिम) का निम्ति आफैंले विभिन्न सामानहरू लैजाने गरेका छन् । टहरभित्रको एउटा कोठामा सुत्ने र अर्को कोठामा व्यायामसहित भान्सा बनाउने गरेका थिए । तर, यसपटक उनी जानुअघिसम्म अरु नै थुनुवा बसेका थिए ।

‘उहाँले व्यायामको सामान मगाउनुभयो भने एउटा कोठामा राख्न सकिन्छ’, आन्तरिक प्रशासनका एक सदस्यले बताए । उनका अनुसार अघिल्ला पटक जेलमा रहँदा मनाङेले आधा दिन व्यायाम गरेरै बिताउँथे ।

मनाङेले रोजेको ब्लक ‘ख’मा विकल पौडेलबाहेक अरु ‘हाइप्रोफाइल’थुनुवा छैनन् । पौडेलअघि राष्ट्रिय उन्मुक्ति पार्टीका नेता रेशम चौधरी त्यहीँ बसेका थिए ।

बरु, सोही कारागारको ब्लक ‘क’ मा ‘हाइप्रोफाइल’ थुनुवाको संख्या बढी छ । त्यहाँ सहकारी ठगीमा पक्राउ परेका केवी उप्रेती, इच्छाराज तामाङ, कर फर्स्यौट आयोगका अध्यक्ष चुँडामणि शर्मा, सदस्यहरू लुम्बध्वज महत र उमेश ढकालसहितका थुनुवा छन् ।

चक्रे मिलन भनिने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ गते धारिलो हतियार प्रहार गरी हात काटेको घटनाका मुख्य योजनाकारका रूपमा मनाङे ०६१ सालदेखि नै उक्त कारागारमा पटक-पटक राखिँदै र छाडिँदै आएका छन् । सोही घटनालाई पहिला कुटपिट मुद्दाका रूपमा अगाडि बढाइँदा पनि उनले त्यहीँ बसेर कैद भुक्तान गरेका थिए ।

उच्च अदालत पाटनले सो घटना ज्यानमार्ने उद्योगअन्तर्गत चल्ने र कैद अवधि ५ वर्ष हुने फैसला गरेपछि पनि उनले त्यहीँ ८ महिनाको कैद भुक्तान गरेका थिए । अदालतको फैसलाअनुसार उनले २८ महिना कैद भुक्तान गर्न बाँकी छन् । यसअघि उनले ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

कैद मिनाहाको माग गर्दै बुधबार नै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने मनाङेका कानून व्यवसायी दीपकमणि निरौलाले बताए ।

‘५० प्रतिशतभन्दा बढी कैद भुक्तान भइसकेको कारण बाँकी कैद मिनाहाको माग गर्दैछौं’, उनले बताए ।

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्