नलगाडको उपमेयरमा कांग्रेसले दियो भूकम्पमा निधन भएकी सरिताकी भाई बुहारीलाई टिकट, महाबु, दुल्लु र कुशेमा पनि टुंगिए उम्मेदवार
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेख र जाजरकोटका ४ स्थानमा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर १६ गते ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख तथा जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष र दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष पद रिक्त रहेको छ ।
दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष बिर्खबहादुर शाही, जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष मनबहादुर घर्ती, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख सरिता सिंह र दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो । गुरुङ र सिंह नेपाली कांग्रेसबाट निर्वाचित थिए भने शाही एमाले र घर्ती नेपाली कांग्रेसबाट निर्वाचित हुन् । कांग्रेसले यी चारै स्थानमा उम्मेदवार टुंग्याएको हो ।
कांग्रेसले महावुमा झलक भण्डारी,नलगाडमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाउँदा दुल्लुको वडाध्यक्षमा शेरबहादुर शाही र कुशेमा खम्मबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारमा सिफारिस भएकी सिंह गत वर्ष भूकम्पमा परेर निधन भएकी नलगाडकी उपप्रमुख सरिता सिंहकी सहोदर भाई बुहारी हुन् । पूर्व शिक्षिका रहेकी उनी कांग्रेसकी सामान्य कार्यकर्तामात्र हुन् ।
पार्टीमा लामो समयदेखि योगदान गरेकालार्य पन्छाएर सामान्य कार्यकर्तालाई टिकट दिएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । त्यसोत, कांग्रेसले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा पनि स्व: श्यामसुन्दर तामाङकी श्रीमती पासाडीकी शेर्पालाई टिकट दिएको छ । श्यामसुन्दर कांग्रेसबाट पालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । गत वर्ष हृदयघातका कारण उनको निधन भएको थियो ।
उता कुशे गाउँपालिका ७ मा वडाध्यक्षको टिकट पाएका सिंह पनि गत वर्ष पराजित भएका उम्मेदवार हुन् । वडाध्यक्ष जितेका मानबहादुर घर्तीले ३८० मत ल्याउँदा सिंह ३०८ मतमा रोकिएका थिए । पालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा भने कांग्रेसले नै जित हात पारेको छ ।
अहिले स्थानीय तहका ४४ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।