Logo
२३ कार्तिक २०८१, शुक्रबार
(November 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसामा कुवेत उडाइन लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो

काठमाडौं । भिजिट भिसामा कुवेत उडाइन लागेका २२ जना युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरुलाई फर्काइदिएको हो ।

उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए ।

‘टिकट पनि एकतर्फी मात्रै रहेछ’ भट्टराईले भने, ‘बदमाशी प्रष्ट देखिएपछि हामीले फिर्ता गरेका हौं ।’

भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियोे । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडियो ।

नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।

विमानस्थल अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल समेत बनाइएको थियो । तर, एक महिनाअघि उनी त्यहाँबाट सरुवा भई अध्यागमन विभागको महानिर्देशक भएपछि भिजिट भिसालाई नियमन गर्ने काम रोकिएको छ ।

भिजिट भिसाको विकृति नियन्त्रण जरुरी भएको वर्तमान प्रमुख भट्टराई पनि स्वीकार गर्छन् । ’के गर्दा नियन्त्रण गर्न सकिन्छ भन्नेबारे हामी अध्ययन र छलफलकै क्रममा छौं’, उनले भने ।

प्रकाशित मिति: Nov 8, 2024

प्रतिक्रिया दिनुहोस्