गुल्मीमा आवेदन दिएको चार वर्षपछि राष्ट्रिय परिचयपत्र दिन थालियो
आवेदन संकलन गरेको चार वर्षपछि गुल्मीमा वडा स्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ।
२०७६ सालमा जिल्लाका सबै स्थानीय तहमा घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको थियो। विवरण संकलन भएकाहरुको परिचयपत्र बनेर आएकाले वडा स्तरबाटै वितरण गर्न लागिएको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।
इश्मा गाउँपालिका वडा नम्वर दुईका ९१ वर्षीय नामदेव खनाल,धुर्कोट गाउँपालिका वडा नम्वर दुईका ९७ वर्षीय मानबहादुर महतलाई राष्ट्रिय परिचयपत्र प्रदान गरि सुरुवात गरिएको छ।
गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि वितरण कार्य भइरहेको छ। अन्य स्थानीय तहमा पनि केही दिनपछि वितरणको कार्य अगाडि बढाइने गैरेले बताए। जिल्लामा चार समूह बनाएर परिचयपत्र वितरणको कार्य गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रशासनमा लिनै आउँदैनन्
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि ६० हजार बढीको आवेदन संकलन भएको छ। आवेदन संकलन भएका मध्ये ४३ हजारको राष्ट्रिय परिचयपत्र बनेर आएपनि झण्डै छ हजार मात्रै परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
परिचयपत्र बनेर आएकाहरुको मोवाइलमा म्यासेज गए पनि परिचयपत्र लिन नआएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। आवेदन संकलनको समयमा भएको मोबाइल नम्वरमा म्यासेज जाने भएकाले त्यस समयको नम्वर नभएको हुन सक्ने, म्यासेज नहेर्ने,सम्बन्धित ब्यक्ति बैदशिक रोजगारीमा गएर र उसको निधन पनि हुनसक्ने भएकाले परिचयपत्र लिनेको संख्यामा कमी आएको गैरेको भनाइ छ।
परिचयपत्र लिनका लागि सम्बन्धित ब्यक्ति नै आउनुपर्ने र फिङगर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भएपनि अरु कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ।
२०७६ साल असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए। ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भएपश्चात् जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो।