एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित चारै पदका उम्मेदवार, फर्किएला कांग्रेसले भत्काएको ‘लालकिल्ला’ को ‘विरासत’ ?
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका नेता मानन्धरलाई सर्वसम्मत रुपमा अघि सारेर गुमेको विरासत फर्काउने दाउ एमालेको रहेको छ ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।
यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएको हो ।
०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता राजकुमार नकर्मीको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
अघिल्लो चुनावमा ९०४३ मत ल्याएर नकर्मी विजयी बन्दा एमाले उम्मेदवार केशरत्न बज्राचार्य ५५०७ मतमा रोकिएका थिए । कीर्तिपुर नगरपालिका बनेदेखि कहिल्यै पनि पराजित नभएको एमालेलाई सत्ता गठबन्धनको बलमा कांग्रेसका नकर्मीले पराजित गरेका थिए । यसपाली एमालेले त्यो विरासत फर्काउने लक्ष्य लिएको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्ष हिरालाल महर्जन, काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाल र काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधनपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ । रिजाल र महर्जन कांग्रेसबाट र अधिकारी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।
‘लालकिल्ला’को विरासत फर्काउने एमालेको दाउ
कम्युनिस्टहरू आफ्नो वर्चस्व भएको ठाउँलाई ‘लालकिल्ला’ भन्छन्। एमालेले पनि काठमाडौंको कीर्तिपुरलाई लालकिल्लाको रुपमा लिने गरेको छ । ०४९ सालमा तत्कालिन ८ गाविसहरु लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी गाभेर कीर्तिपुर नगरपालिका बनेपछि भएका तीनवटा स्थानीय तह निर्वाचनमा शानदार विजय हाँसिल गरेको एमाले ०७९ सालको निर्वाचनमा भने शर्मनाक हार ब्यहोर्दै एउटा वडा सदस्यमा झरेको छ ।
०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्का निर्वाचित थिए। यसैगरी एमालेबाटै वडा नम्बर १ मा हर्ष महर्जन, २ मा रमेशमान डंगोल महर्जन, ३ मा राजेन्द्र महर्जन, ६ मा न्हुच्छेबहादुर महर्जन, ७ मा राजकुमार माली र ९ मा गंगाराम महर्जन वडाध्यक्षमा निर्वाचित भएका थिए भने ४ वटा वडामा मात्र कांग्रेसले जितेको थियो। तर,गत निर्वाचनमा मेयर उपमेयरसहित कांग्रेस एक्लैले ९ वटा वडामा जित हात पारेको छ ।
तीन दशकदेखिका ‘वामकिल्ला’ भत्काएको कांग्रेस यसपटक सो विरासत कायमै राख्न चाहान्छ भने सत्ताको आडमा कांग्रेसले भत्काएको ‘लालकिल्ला’को विरासत भत्काउने योजना एमालेले बनाएको देखिन्छ । अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।
यसरी हेर्दा देशभरका विभिन्न स्थानमा उपनिर्वाचन हुने भएता पनि संघीय राजधानी भएको जिल्ला भएको हुँदा कीर्तिपुरको चुनावलाई विशेष रुपमा लिईएको छ ।