Logo
११ पुस २०८१, बिहीबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डानाइकेका प्रभावमा परेर चलखेल गरिरहेका डीएसपी हेडक्वाटर तानिए

काठमाडौं : गुण्डानाइके भने चिनिएका दिपक मनाङे उर्फ राजिव गुरुङ समेतको प्रभावमा परेका जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी विरबहादुर पुलामी कारवाही स्वरुप चुनावको मुखमा हेडक्वाटर तानिएका छन् । उनको ठाउँमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने जिम्मेवारी सहित प्रहरी प्रधान कार्यालयका डीएसपी श्यामकृष्ण अधिकारी खटिएको बताइएको छ ।

देशैभरी प्रहरीले गुण्डाराजको अन्त्य गर्न ‘इन्काउन्टर अभियान’ ल्याएपछि त्यसबाट जोगिने उपाय खोज्दै गुण्डानाइके मनाङे चुनावी आवरणमा गाउँ छिरेका हुन् । राजनैतिक आवरण शुन्य रहेका मनाङेले एमालेको समर्थनमा आफूलाई स्वतन्त्र उमेदवारको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।

राजनैतिक नैतिकता नरहेका र कुनै दलप्रति पनि बफादार रहन नसकेका मनाङेले तीन–तीन महिनामा दल बदल्दै हाल राप्रपाबाट एमाले प्रवेश गरेका थिए । तर, पार्टीभित्र र बाहिर चौतर्फी विवाद देखिएपछि स्वतन्त्र उमेदवारका रुपमा समर्थन गरेको भएता पनि मनाङेलाई एमालेले उमेदवार नै भने तोक्न चाहेन ।

मनाङमा डन मनाङेको गुण्डागर्दीले सिमा नाघिसक्दा समेत प्रहरी प्रशासनले शान्तिपूर्ण अवस्था कायम राख्नेतर्फ चासो नदिएको गुनासोकै आधारमा प्रहरी हेडक्वाटरले जिल्लाको प्रहरी नेतृत्व परिवर्तन गरेको बताइएको छ । राजधानी लगायत देशका प्रमुख शहरमा गुण्डागर्दीको सञ्जाल बनाएर असुली धन्दा चलाउँदै आएका कुख्यात दिपक मनाङे यस पटक मनाङको प्रदेश सभा ‘ख’ बाट एमालेको समेत समर्थनमा स्वतन्त्र उमेदवारका रुपमा प्रत्यक्ष निर्वाचनमा होमिएका छन् ।

गृह जिल्ला मनाङमा समेत चुनावी प्रचारका नाममा युवालाई थर्काउने, धम्क्याउने र अपहरण गर्नेजस्ता कार्य गरेको भन्दै प्रहरीमा पिडीत पक्षका साथै नेपाली काँग्रेस जिल्ला कार्य समितिले नै उजुरी दर्ता गराउन जाँदा समेत त्यहाँको प्रहरी प्रशासनले मनाङेमाथि कारवाही गर्न चाहेको थिएन । राजनैतिक दबाबपछि प्रहरीले कारवाही गर्नुको सट्टा माफी मगाएर उन्मुक्ति दिएको गुनासो मनाङ काँग्रेसको छ । तर, प्रहरीले भने यस बारेमा मौनता जनाउनुलाई आश्चर्यका रुपमा हेरिएको थियो ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्