नेपाल–बंगलादेशबीच फुटबल भिडन्त : टिकट लिन सर्वसधारणको विहानै देखि लामो लाइन
काठमाडौं, कार्तिक १४ । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच आज हुने फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ।
एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको टिकट लिन सर्वसधारणको विहानै देखि लामो लाइन लागेको छ । अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बस्नु परेको हो । एन्फाले यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरेर भौतिक उपस्थितिमा टिकट बिक्रि खुला गरेको हो ।
यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले टिकट बेच्न लागेको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।
टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकेको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।