राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिए
काठमाडौं, १३ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको र सो पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएको बेलामा लिङ्देनले कडा टिप्पणी गरेका छन् ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा किर्तीपुर नगरपालिकाको लागि मेयर र वडा अध्यक्षहरुको लागि पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा कार्यक्रममा यस्तो बताएका हुन् । उनले मंसिरमा हुने उपनिर्वाचनमा रास्वपाले जित्ने दाबी गरे ।
उनले भने,‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन ।
कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु–नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’