Logo
११ कार्तिक २०८१, आईतबार
(October 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पहिलो पटक एआई सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरू भएको छ । आजदेखि सुरू सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।

ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘एआईले धेरै ठूलो सहयोग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु ।

मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।’

युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।

प्रकाशित मिति: Oct 27, 2024

प्रतिक्रिया दिनुहोस्