ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन हुने, आम रूपमा सहभागी हुन अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।
माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो । प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।
आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिए । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको बताए ।
सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो ।
लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् ।
बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।