Logo
६ कार्तिक २०८१, मंगलबार
(October 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाले रोकिएन रास्वपाको प्रदर्शन

सहकारीको बचत रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा प्रदर्शन भएको छ।  सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिएर

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

यद्यपि, निषेधाज्ञाका बीच पनि रास्वपा कार्यकर्ता र रविका समर्थकहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। नारावाजी र प्रदर्शनका क्रममा बेलाबेलामा प्रहरीसँग धकेलाधकेलसमेत भइरहेको छ। प्रदर्शनको नेतृत्व रास्वपाका शीर्ष नेताहरू उपसभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल आदिले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो। उनलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: Oct 20, 2024

प्रतिक्रिया दिनुहोस्