Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दान लिने निर्णयबाट ब्याक हुन दबाब बढेपछि बचाउमा उत्रियो एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू खेदजनक रहेको जनाएको छ ।

पार्टीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य रहेको जिकिर गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले बल्खु, मदन नगरस्थित केन्द्रीय कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि एमालेले केही बर्ष धुम्बाराही, त्यसपछि थापाथली हाइट र पछिल्लो समय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानबाट केन्द्रीय कार्यालयको काम सञ्चालन गर्दै आएको छ । च्यासलस्थित कार्यालयमा पटक पटक बाढी पसेर ठूलो क्षति पुर्याएपछि वैकल्पिक व्यवस्था गर्नैपर्ने परिस्थिति निर्माण भएको अवस्थामा सफल व्यवसायी तथा पार्टीका समर्थक तथा शुभचिन्तक मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा दान दिनुका साथै भवन निर्माणको जिम्मेवारी पनि लिएका थिए ।

अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उनले दान गरेको जग्गालाई पार्टीले स्वीकार गरेको र यसमा कुनै किसिमको सौदावाजी र लेनादेना नभएको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘लोकतान्त्रिक मुलुकहरूमा पनि आमरूपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको छ । यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुनेछन्’ ।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्