Logo
१२ मंसिर २०८१, बुधबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री गौरी मल्लमाथि जापानमा  ‘दुर्व्यवहार’, न्याय माग्दै दूतावासमा उजुरी

gauriकाठमाडौं । जापानमा बस्ने एक नेपालीले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री गौरी मल्लले टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दिएकी छिन् । मल्लले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् ।  गौरीले दूतावासमा दर्ता गराएको उजुरीमा ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उनीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

उजुरीमा मल्लले पीडकको नाम र ठेगाना सविस्तार उल्लेख गरेकी छिन् ।  अभिनेतृ गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।

मल्लले अभिनय गरेको सिंहदरवार चलचित्र हेरेपछि आफू प्रभावित भएको भन्दै ती व्यक्तिले इमेल र टेलिफोन गरेर उनलाई जापान बोलाएका थिए । ‘तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने-बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु,’ आफूलाई दिएको प्रलोभन उद्वृत गर्दै गौरीले उजुरीमा लेखेकी छिन्, ‘हाललाई इको स्प्रे फर एयर फिल्टरको विज्ञापनको प्रस्ताव आएको छ, मलाई आफ्नै भाइ सम्झेर यो प्रस्ताव स्वीकार गर्नुहोस् ।’

ती व्यक्तिले जापान आउनका लागि आफूलाई तीन लाख रुपैयाँ समेत पठाइदिएको गौरीले उल्लेख गरेकी छिन् । उनैको प्रस्तावमा विश्वास गरेर गौरी गत मार्चमा जापान गएकी थिइन् । त्यहाँ पुगेपश्चात आफू ती व्यक्तिबाट शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार हुनु परेको गौरीको भनाइ छ । उनले त्यसबेला जापानमा करिब एक महिना बिताएकी थिइन् । हाल उनी नेपाल फर्किइसकेकी छिन् ।

‘निजले म उपर गरेको दुर्व्यवहार, गाली बेइज्जती, शारीरिक तथा मानसिक यातना, महिलाजन्य यौन हिंसा, समयको बर्बादी तथा आर्थिक क्षतिसमेतलाई विचार गरी विपक्षीबाट यथोचित क्षतिपूर्ति दिलाई भराई न्याय पाउँ,’ दूतावासमा दर्ता गरिएको निवेदनमा उल्लेख छ । यस विषयमा अनलाइनखबरले गौरीसँग सम्पर्क गर्दा उनले निवेदन दिएको स्वीकार गरे पनि विस्तृत विवरण दिन चाहिनन् ।

उजुरीमाथि अध्ययन हुँदैछः राजदूत

जापानस्थित नेपाली राजदूतवासका कार्यवाहक राजदूत गेहेन्ऽराज भण्डारीले उजुरी सम्वेदनशील रहेको बताए । ‘हामी यस विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘२/४ दिनमै निर्णय लिनेछौं ।’ एनआरएन जापानका अध्यक्ष सुदन थापाले जो सुकैले गरे पनि पिडकलाई कारवाही हुनु पर्ने बताए । यता आरोपीलाई सम्पर्क गर्दा उनले ‘समाचार निकालेर आफुलाई केही फरक नपर्ने’ प्रतिक्रिया दिए ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्