Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्रालयको निर्णय

२३ असोज, काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘स्पष्टीकरण सोधेर घिसिङलाई मन्त्रालयमा हाजिर गराउने तयारी छ ।’

ऊर्जामन्त्री खड्काले मन्त्रालय मातहतको निकायका गतिविधिबारे तालुक मन्त्रालयलाई जानकारी हुनुपर्ने सामान्य मान्यताका आधारमा विवरण माग गरिएको बताए ।

‘मन्त्रालय र प्राधिकरण फरक–फरक निकाय होइनन्, प्राधिकरण हामी मातहतको नियका हो,’ मन्त्री खड्काले भने, ‘प्राधिकरणले मन्त्रालयको समानान्तर गतिविधि गर्ने भन्ने हुँदैन, आफूले गरेका काम कारबाहीबारे मन्त्रालयलाई जानकारी दिनुपर्छ ।’

स्पष्टीकरण सोध्ने निर्णयपछि मन्त्री खड्काले मन्त्रालयका सहसचिव शम्भू मरासिनी मार्फत प्राधिकरण सञ्चालक समितिका सदस्यलाई आज बुधबार बैठक रहेको भन्दै सूचना पठाएका थिए ।

तर, आज बिहान सबेरै प्राधिकरण सञ्चालक समितिको बैठक रद्द भएको जानकारी मन्त्रालयबाट आएको समितिका एक सदस्यले जानकारी दिए ।

प्राधिकरण सञ्चालक समिति बैठक प्रत्येक साता बस्ने गरे पनि पछिल्लो दुई महिनादेखि एक पटक पनि बैठक बसेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयबाट १५ बुँदे विवरण मागेर पत्र आएको बताए ।

‘ट्रान्सफर्मर खरिद लगायत विषयका विवरण मागिएको छ, त्यो स्पष्टीकरण हो जस्तो लाग्दैन,’ घिसिङले भने, ‘मन्त्रालयले मागेको विवरण चाँडै बुझाउँछु ।’

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता भुक्तानीबारे विद्युत् प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद जारी छ ।

घिसिङले उद्योगहरूले बक्यौता भुक्तानी गर्न बाँकी रहेको दाबी गरिरहेका छन् भने उद्योगीले बिजुली नै उपभोग नगरेको र गरेको भए प्रमाण पेस गर्नुपर्ने भन्दै बिजुली बक्यौता नतिर्ने अडान लिँदै आएका छन् ।

ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टीकरण निम्नानुसार छन् :

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली (संशोधन सहित) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र त्यससँग सम्बन्धित विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय ।

२. नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विगत चार वर्ष अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकका व्यावसायिक संस्थासँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।

४. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमा रहेको प्राधिकरणको सेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूका विवरण ।

५. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको विगत चार वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत् प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट ‘पावर इभ्याकुएसन’ पूर्णरूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूका विवरण

७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत् प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण÷प्रतिवेदनहरू ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर÷ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं उक्त महसुल सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।

११. नेपाल विद्युत् प्राधिकरणले विभिन्न बोलपत्र मार्फत खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदका लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नम्बर, खरिद मूल्य एवं हालको अवस्था सहित) ।

१२. हाल बोलपत्र आह्वानका लागि तयारी भइरहेको स्मार्ट मिटर लगायत वस्तु ÷सामग्रीको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित) ।

१३. नेपाल विद्युत् प्राधिकरण आफैंले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलका लागत मूल्य, बोलपत्रबाट खरिद भए विभिन्न पोलको खरिद मूल्य एवं त्यस सम्बन्धी परिमाणको गत चार आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखका रूपमा गत पाँच वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

प्रकाशित मिति: Oct 9, 2024

प्रतिक्रिया दिनुहोस्