Logo
१० मंसिर २०८१, सोमबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनपछि थपिए साढे १३ लाख मतदाता : मोरङमा सबैभन्दा बढी र मनाङमा कम

काठमाडौं : स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ९३५ जनाको मतदाता नामावली कायम भएको बताए । उनका अनुसार भदौ ५ गते १८ वर्ष पुगेका सबैले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम छुटेकाका लागि मतदाता नामावली संकलन गरेको थियो ।

पछिल्लो मतदाता नामावलीमा सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौं, कैलाली, सुनसरी, दाङ, काभ्रे र चितवनमा थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन् । स्थानीय तह निर्वाचनमा ५ लाख ५३ हजार ८७० मतदाता रहेको मोरङमा ८० हजार ९१५ मतदाता थपिएर ६ लाख ४४ हजार ७८५ पुगेको छ ।

आयोगका प्रवक्ता ढकालका अनुसार मोरङपछि सबैभन्दा बढी मतदाता कैलालीमा थपिएका छन् । स्थानीय तह निर्वाचनमा कैलालीमा ४ लाख ३ हजार २८० मतदाता थिए भने अहिले ५७ हजार ३०० थपिएर ४ लाख ६० हजार ५८० मतदाता कायम भएको ढकालले बताए ।

उनका अनुसार सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७५४, काभ्रेपलाञ्चोकमा ४१ हजार ४३८ र चितवनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा ५ लाख ५९ हजार ४०० मतदाता रहेको काठमाडौंमा ४४ हजार २२० मतदाता थपिएर प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौंमा ६ लाख ३ हजार ६२० मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि सबैभन्दा कम मतदाता मनाङमा थपिएका छन् । मनाङमा ७८५ मतदातामात्रै थपिएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा ५ हजार ९५ मतदाता रहेको मनाङमा प्रदेश र प्रतिनिधि सभाका लागि ५८ सय ८० मतदाता कायम भएको छ । यस्तै, मनाङपछि कम मतदाता थपिनेमा मुस्ताङ र डोल्पा पनि परेका छन् । मुस्ताङमा स्थानीय तह निर्वाचनपछि ११ सय ६४ मतदाता थपिएका छन् ।

स्थानीय तह निर्वाचनमा ८२ सय ६३ मतदाता रहेको मुस्ताङमा अब ९४ सय २७ मतदाता कामय भएको आयोगले जनाएको छ । डोल्पामा भने स्थानीय तह निर्वाचनपछि २०६४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा १६ हजार ७०३ मतदाता रहेको डोल्पामा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १८ हजार ७६७ मतदाता कायम भएको निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतमध्ये कुल १ करोड ४३ लाख ६ हजार ३२५ मत खसेको थियो। यो कुल मतको ७४ दशमलब २ प्रतिशत हो । खसेको मतमध्ये ९१ लाख ३६ हजार ७०३ मत सदर भएको थियो । स्थानीय तह निर्वाचनमा कुल खसेको मतको ३ दशमलब ४४ प्रतिशत बदर भएको थियो ।

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्