Logo
१० मंसिर २०८१, सोमबार
(November 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ प्रदेशका ६३ जिल्लामा युरोपेली टोली आजैदेखि पर्यवेक्षणमा

काठमाडौं : युरोपेली संसदमा क्रोएशियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मंगलवार इयु पर्यवेक्षण मिसनको शुभारम्भ गरिन् । मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, मंसिर १० र २१ मा हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको महत्वपूर्ण चरणका रुपमा रहेको छ । र हाम्रो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्नेछ ।

सरकारको निमन्त्रणामा आएका इयुका पर्यवेक्षक सातै प्रदेश पुगेको उनले बताइन् । इयुले नेपालको निर्वाचन पर्यवेक्षणका लागि ३५ लाख युरो (नेपालको पछिल्लो एक्सचेन्ज रेट अनुसार, करिब ४२ करोड रुपियाँ) छुट्याएको छ । उनले तीन दिनयता प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली, परराष्टसचिव शंकरदास बैरागीलगायतसँग भेटेको बताइन् । इयुको १० जनाको मुख्य टोली र ३८ जनाको टोलीले विधिवतरुपमा मंगलवारदेखि काम थालेको छ । आसन्न निर्वाचनमा इयु, कार्टरसेन्टरसहित चारवटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्ने तय भएको छ ।

युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन नेपाल नाम दिइएको छ । मिसनको नेतृत्व क्रोएसियाबाट प्रतिनिधित्व गर्ने युरोपेली संसदकी सदस्य जेल्याना जोभ्कोले गरेकी छन् । इयुका अनुसार मिसनमा १०० भन्दा बढी पर्यवेक्षकहरू रहनेछन्। निर्वाचन विश्लेषकहरूको मुख्य टोली कात्तिक ८ गतेदेखि नै काठमाडौँमा छ । मुख्य टोलीले निर्वाचन प्रक्रियासँग सम्बन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रक्रियासम्बन्धी कानुनी मुद्दाहरूको विश्लेषण गर्नेछ ।

टोलीलाई बन्दोबस्ती तथा सुरक्षा सम्बन्धी विज्ञहरूले सहयोग गर्ने जोभ्कोलेबताइन् । इयु प्रमुख पर्यवेक्षक जोभ्कोसहित इयु सदस्य राष्ट्र र नर्वेका गरी ३८ दीर्घकालीन पर्यवेक्षकहरू कात्तिक १७ गते नेपाल आइपुगेका छन् । सबै प्रदेशहरूमा परिचालित भएका उनीहरुले आ–आफ्ना क्षेत्रमा निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी काठमाडौँमा रहेको मुख्य टोलीलाई प्रतिवेदन गर्नेछन् ।

जोभ्कोका अनुसार, इयु सदस्य राष्ट्रका साथै नर्वे र स्विट्जरल्यान्डका बीसजना अल्पकालीन पर्यवेक्षकहरू पहिलो मतदानको दिन भन्दा केही दिनअघि मिसनमा संलग्न हुनेछन् । अरु २४ जना दोस्रो मतदानका लागि आइपुग्ने छन् । उनीहरूले मतदान, मतगणना र मतपरिणाम तालिकीकरणको पर्यवेक्षण गर्नेछन् । मिसनमा युरोपेली संसद् सदस्य एवं काठमाडौँस्थित युरोपेली दूतावासका कूटनीतिक कर्मचारीको समेत संलग्नता हुनेछ ।

इयुका अनुसार मिसनलाई निर्वाचन प्रक्रियाका सबै पक्षहरूको पर्यवेक्षणका साथै निर्वाचन कुन हदसम्म निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धता एवं राष्ट्रिय कानुन अनुरूप सञ्चालन भएको छ भनी मूल्याङ्कन गर्ने कार्यादेश छ । इओएम नेपालस्थित इयु नियोग, इयु सदस्य राष्ट्र तथा इयुका सबै संस्थाहरूबाट स्वतन्त्र छ ।

इयुले कानुनी कार्यढाँचा र यसको कार्यान्वयन, निर्वाचनसम्बन्धी प्रशासनिक कार्य, दलहरुका चुनावी अभियानसम्बन्धी गतिविधिहरू, राज्यका संस्था र नागरिक समाजको भूमिका, आमसञ्चार माध्यमको आचरण,मतदान, मतगणना र तालिकीकरण, निर्वाचन सञ्चालनको वातावरण, गुनासो र उजुरी प्रक्रियाको पर्यवेक्षण गर्नेछ ।

प्रकाशित मिति: Nov 7, 2017

प्रतिक्रिया दिनुहोस्