Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेरहदबारे अखिल क्रान्तिकारीमा बहस, निर्वाचनबाट टुंग्याउन प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमा उमेरहद लगाउने कि नलगाउने भन्नेमा मतभेद देखिएको छ । असोज १० गतेदेखि जारी २३ औं राष्ट्रिय सम्मेलको बन्दसत्रमा अधिकांश मतदाता उमेरहदको विपक्षमा उभिएका थिए ।

केहीले उमेरहद लगाउनुपर्ने पक्षमा उभिएका थिए । उमेरहदसम्बन्धी विषयमा मतभेद उत्पन्न भएपछि आइतबार बसेको बन्दसत्रले टुंग्याउन नसकेपछि सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियाबाट विवाद टुंग्याउन निर्देशन दिएको उपाध्यक्ष एवं प्रवक्ता जीवी मैनालीले जानकारी दिए । मैनालीका अनुसार उमेरहदसम्बन्धी विषय टुंग्याउन मतदानबाट टुंग्याउने तयारी भइरहेको छ ।

‘अध्यक्ष प्रचण्डले उमेरहदसम्बन्धी विवाद निर्वाचन प्रक्रियाबाट टुंग्याउन निर्देशन दिनुभएको छ । साथै ०८४ को निर्वाचनमा पार्टी एकल उठ्ने भएकाले आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभएको छ । अब उमेरहद लगाउने कि नलगाउने विषय निर्वाचन प्रक्रियाबाट टुंगिन्छ’, मैनालीले भने ।

अर्का उपाध्यक्ष एवं केन्द्रीय कार्यालयका प्रमुख केशव रावलले उमेरहद लगाउने कि नलगाउने ? लगाउने भए कति उमेर समूहको लगाउने भन्ने विषयमा मतदान हुने बताए । ‘बन्दसत्रमा अधिकांशको माग उमेर हद नलगाउने पक्षमा देखिएको छ । केहीले उमेरहद लगाउने पक्षमा देखिएका छन् । यस विषयको समाधान निर्वाचन प्रक्रियाबाट हुनेछ’, रावलले भने ।

रावलका अनुसार एउटै मतपत्रमा उमेरहद लगाउने कि नलगाउने भन्नेमा टिक लगाइने व्यवस्था मिलाइने छ । अर्कोमा कुन उमेरहद समूहमा लगाउनेबारे मतदान हुनेछ । अर्का उपाध्यक्ष पवन कार्कीले उमेरहदसम्बन्धी विवाद निर्वाचन प्रक्रियाबाट टुंग्याउने विषयमा सहमति भएको बताए । बन्दसत्रमा २८, ३२ र ३५ उमेर समुहको विषयमा मत बढी आएकाले त्यसबारे अब निर्वाचन प्रक्रियाबाट टुंग्याइने स्पष्ट पारे ।

‘प्रचण्डले उमेरहदसम्बन्धी विवाद आफैँले मिलाउनोस् भन्नुभएको छ । अब यस विषय निर्वाचव प्रक्रियाबाट टुंगिन्छ । यससम्बन्धी समस्या हल भएपछि मात्र नेतृत्व छनोटको विषयमा प्रवेश हुन्छ’, कार्कीले भने । विद्यार्थी संगठनमा देखिएको समस्याबारे छलफल आइतबार माओवादीको पदाधिकारी बैठक बसेको थियो । नेतृत्व छनोटसम्बन्धी विवादमा पार्टीले हस्तक्षेप नगर्ने तर सहयोग वा समन्वयका लागि प्रस्ताव आए विचार गर्ने नीति लिएको थियो ।

क्रान्तिकारीको बन्दसत्रमा १० वटा समूहमध्ये ५ वाटा समूहले उमेरहद राख्न जरुरी नभएको धारणा राखेका थिए । दुईवटा मत विभाजन गर्नु र उमेरहद लगाउनुपरे २८ वर्ष राख्नुपर्ने मत राखेका थिए । ३ वटा समुहले  २८ वर्ष उमेरहदल राख्नुपर्ने पक्षमा उभिएका थिए । छलफलबाट २८, ३२ र ३५ उमेरहद लगाउनुपर्ने सुझाव आएको धारणा राखेका थिए ।

उमेरहद जरुरी नभएको पक्षमा मधेस प्रदेशका नेता रामपुकार यादव, प्राविधिकधारतर्फ क्याम्पसबाट अनिस बलसाडी, लुम्बिनी प्रदेशबाट महेश बस्नेत उभिएका थिए । कार्णालीका समूह नेता निराजन केसीले उमेरहद २३ औंबाट लागू हुने हो कि २४ औंबाट हुने हो भन्ने प्रश्न उठाएका थिए । छलफलबाट २८, ३२ र ३५ उमेरहद लगाउनुपर्ने सुझाव आएको धारणा राखेका थिए ।  यस विषयमा टुंगो लगाउन विद्यार्थी केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्