Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी र पहिरोले १६ जलविद्युत् आयोजनामा क्षति

१३ असोज, काठमाडौं । बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (नेपाल) (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

इप्पानका अनुसार मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना र मकवानपुरको पावर हाउस पूर्णरूपमा डुबेको छ ।

पाँचथरको माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना जुन गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो, अहिले यसको पावर हाउस डुबानमा परेको छ ।

त्यस्तै पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, जुन गत वर्षको बाढीले क्षतिग्रस्त भई पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा अहिले पुनः क्षतिग्रस्त बनेको छ ।

सोलुखुम्बुमा साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुग्दा उत्पादन बन्द भएको छ ।

त्यस्तै इलामको सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ ।

इलामकै सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ ।

पाँचथरको १ मेगावाटको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युतगृहमा पूर्णक्षति पुगेको छ । लमजुङको ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।

त्यस्तै लमजुङस्थित ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा समेत क्षति पुगेको छ ।

धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पहुँचमार्गमा ठूलो क्षति भएको इप्पानले जनाएको छ ।

नुवाकोटस्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ भने तीन वटा कन्टेनर बगाएको छ ।

पाँचथरस्थित १० मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ । पहुँचमार्गमा क्षति पुगेको प्रसारण लाइनको टावर ढलेको छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

त्यसैगरी पाँचथरस्थित १५.१ मेगावाटको सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्ग बगेको छ । पावरहाउस पुरिएको छ भने बाँधमा क्षति र अस्थायी पुल बगाएको छ ।

पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको देखिएको छ । कास्कीस्थित ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको समेत इप्पानले जनाएको छ ।

यसैगरी नुवाकोटस्थित १ सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका दुई स्काभेटर, दुई लोडर र तीन वटा टिपर बगाएको छ । बेलिब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । धेरै जलविद्युत् आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाका विवरण प्राप्त हुन नसकेको इप्पानले जनाएको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्