Logo
११ आश्विन २०८१, शुक्रबार
(September 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको विकासमा चीनको साथ सधैं : चिनियाँ उपप्रधानमन्त्री

११ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ ।

बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरेका छन् ।

उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गरे ।

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना दिए ।

उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने बताए  ।

अर्थमन्त्री पौडेल र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच समेत भेटवार्ता भएको छ ।

त्यस क्रममा अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गरेका छन् ।

उनले विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गरे ।

सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिए ।

प्रकाशित मिति: Sep 27, 2024

प्रतिक्रिया दिनुहोस्