Logo
१० मंसिर २०८१, सोमबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपहाडी लोकमार्गमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते

सिन्धुली : मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका-४ टर्कीबेसीमा आइतबार राति बोलेरो दुर्घट्ना हुँदा एकै गाउँका चार जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । अन्य ६ घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुने र घाइते हुनेहरु एकै गाउँका र आफन्त रहेको प्रहरीले जनाएको छ । उनीहरु भूकम्प पीडितले पाउँने दोस्रो किस्ता बापतको १ लाख ५० हजार रकम अनुदान लिएर घर फर्कदै गर्दा उकालो सडकमा बोलेरो दुर्घट्नामा परेको बताइएको छ ।

सिन्धुलीको खुर्कोटबाट फिक्कल गाउँपालिका-४ स्थित खाङ्साङको पोटीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको डवल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए ।

फिक्कल गाउँपालिका-४ का ४० वर्षीय अम्मरबहादुर दर्लामी, सोही ठाँउका वर्ष ४० वर्षीय रामप्रसाद बराल र ५९ वर्षीय दिपबहादुर मगरको घटनास्थलमै मृत्यु भएको र ६० वर्षीय नरबहादुर बलमपाखी मगरको खुर्कोटस्थत सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घट्ना पछि बोलेरोको चालक फरार भएको भएपनि हाल इलाका प्रहरी कार्यालयले खुर्कोटले नियन्त्रणमा लिएको जनाइएको छ । मृतकहरुको शव पोष्ट मार्टमका लागि सिन्धुली अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण एकिन नभएको र दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी फिक्कल गाउँपालिका-४ का ४१ वर्षीय धनबहादुर पुर्वाछान गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौंस्थित बी एण्ड बी अस्पतामा रिफर गरिएको प्रहरी प्रमुख केसीले बताए ।

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्