Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई रविले भने–’न्यूयोर्कबाट आँखा नसन्काउनु्स् प्रधानमन्त्रीज्यू, बसेर कुरा गरौं म रुम मिलाउछु’

काठमाडौं, असोज ७। सहकारीको पैसा अपचलन मुद्दामा आफुलाई तान्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आक्रोशित बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफुलाई फसाउन लागिएको आशंका व्यक्त गर्दै उनले समाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई न्युयोर्कबाट आँखा नसन्काउन आग्रह गरेका छन् । उनले सहकारी पीडितलाई न्याय दिने नियत भए आफु रुम मिलाउन तयार रहेको बैताउँदै त्यसका लागि कुनै बिचौलियाको घर नचाहिने जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् “न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि।

ग्यालेक्सी टिभीको सञ्चालक भएकै आधारमा आफुलाई तान्न खोजिएको भन्दै त्यसविरुद्ध प्रतिकार गर्ने उनको चेतावनी छ । प्रहरीले आइतबार ग्यालेक्सी टिभीका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेपछि लामिछाने पनि पक्राउ पर्ने संकेत देखिएको छ।

यसअघि लामिछानेलाई प्रहरीले आइतबार नै पक्राउ गर्न सक्ने खवर सार्वजनिक भएको थियो । लामिछाने पक्राउको हल्ला चलेपछि पार्टी कार्यकर्ता केन्द्रीय कार्यालयमा भेला भएका थिए।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरिसकेको छ ।

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि प्रहरीले निगरानी बढाएको छ। समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाई छ।

प्रहरीले गोर्खा मिडियाका पूर्व सञ्चालक जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर आइतबार पक्राउ गरेको हो । प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि मात्रै सहकारी छानबिन समितिले कारबाही गर्न भनेका व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको भए पनि जोशी भाग्न लागेको सूचना पाएपछि तत्काल पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्