आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन (तस्विरहरु)
काठमाडौँ । आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन लागेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा आज संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।
एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै खुल्ला गरिएको छ । २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ ।
यो आयोजना पुनःनिर्माण प्राधिकरणको समय सीमाभित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।