Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ ।

संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’

प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘समानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो,’ उनले भने, ‘मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’

उनले राजनीतिक तहमा देखिएको अस्थिरिताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् ।

‘म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ।’

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्