Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधवलाई उपेन्द्रको धोका ! एकीकृत समाजवादीले गुमायो राष्ट्रिय सभामा समितिको नेतृत्व

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्।

निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालको मत पाएकी दाहाल सभापतिमा निर्वाचित भएकी हुन्।

सोमबार भएको निर्वाचनमा एमालेकी तुलसा र एकीकृत समाजवादीकी जयन्ती राई उम्मेदवार थिए। कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेका हुन्।

दहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र एमालेकी भगवती न्यौपाने थिए, भने राईको प्रस्तावकमा समाजवादीका वेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आले मगर थिए।

दुई वर्षअघि भएको सभापति चयनमा चार दलले एक–एक वटा सभापति लिने सहमति गरेका थिए। तर, यसपटक एमालेबाट ३ वर्षअघि टुक्रिएको एकीकृत समाजवादी र एमालेबीच नै प्रतिस्पर्धा भएको थियो । भन्नलाई एउटा समितिको नेतृत्व भनिएपनि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिष्ठालाई जोडेर चर्चा भएको यस घटनामा प्रधानमन्त्री ओलीले जितेका छन् ।

माधवलाई उपेन्द्रको धोका !

त्यसो त आइतबारसम्म पनि दाहाल र राईमध्ये को सभापति हुने निश्चित भएको थिएन् । १५ सदस्यीय समितिमा एमाले र नेपाली कांग्रेसका ७ तथा एकीकृत समाजवादी र नेकपा माओवादीका पनि समान ७ सदस्यनै छन् । १ सदस्यसहित विधायन समितिमा जनता समाजवादी पार्टी नेपाल निर्णायक बनेको थियो । जसपा नेपालका मृगेन्द्र सिंह यादवले सत्ता गठबन्धनलाई नै साथ दिएका छन् ।

आइतबार उम्मेदवारी दर्तापछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग माग्दै फोन गरेका थिए । जसपाको साथ पाए समितिको नेतृत्वमा निरन्तरता पाउने नेपालको विश्वास थियो । तर, यादवले साथ नदिँदा एकीकृत समाजवादीले २ वर्षपछि राष्ट्रिय सभामा सभापति गुमाएको छ ।

जसपा नेपालले वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारमा सामेल भएको छैन् । सरकारमा सामल नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भन्दा एसका अध्यक्ष नेपालसँग बढी निकट भएको हुँदा समितिको नेतृत्वमा जसपाको साथ पाउने एकीकृत समाजवादीको आंकलन थियो ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्