Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको निश्कर्षः महाअभियोगको प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले राजीनामा दिँदा राम्रो हुन्छ

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको छ । आज (बुधबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निश्कर्ष निकाले हो । ‘हाम्रो चाहना प्रक्रियामा जानुभन्दा उहाँ आफैंले बुझेर मार्ग प्रशस्त गर्नु राम्रो हुन्छ,’– कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता श्याम घिमिरेले बताए ।

उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर भिसा प्रक्रियाका लागि अनुरोध गर्नु पदीय मर्यादा विपरीत रहेको घिमिरेले बताए । उनले यसलाई चानचुने कुराको रुपमा लिन नहुने बताए । ‘उहाँमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुन प्रश्न होईन । अर्को देशसँगको सम्बन्ध, अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम, उपसभामुखले कुनै पनि हालतमा लेखेर कूटनीतिक नियोगलाई त्यो किसिमको सिफारिस गर्नै मिल्दैन । यो संसद्लाई नै अपमानित भएको छ भन्ने हाम्रो बुझाइ छ,’– उनले भने ।

उपसभामुख रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

नेता घिमिरेले उपसभामुख रानालाई महाअभियोग लगाउने विषयमा कांग्रेस संसदीय दल र सत्तारुढको बैठक बसेर साझा धारणा बनाइने बताए ।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्