भदौ ३० गतेभित्रै कडा एक्शन लिनेमा प्रधानमन्त्री ओली, पहिलो निशानामा रवि लामिछाने !
काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३० गतेभित्र निर्णायक राजनीतिक कदम चाल्नेगरि तयारी थालेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले पोलिटिकल मूभका लिष्ट बनाएको चर्चा छ । आफ्नो लिष्टको पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परेको स्रोतको दाबी छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई सिआईबीमार्फत अप्ठ्यारो पार्ने प्रधानमन्त्री ओलीको तयारी छ । ओलीको तयारीमा नेपाली कांग्रेसको पूरा साथ रहेको बतार्ईएको छ । आफ्नो लिष्टको दोस्रो नम्बरमा प्रधानमन्त्री ओली माधव नेपाललाई राखेका छन् ।
उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई विभाजन गर्नेगरि कानून ल्याउन लागेका छन् । माधव नेपालको पार्टीबाट आधा दर्जन सांसदहरु एमालेमा फर्किनको लागि खुट्टा उचालेर बसेको बताईएको बेलामा पदाधिकारी तहकै नेताहरुले पनि एमालेसँग एकताको लागि ठोस कदम चालेको गाईंगुईं छ ।
प्रधानमन्त्री ओलीले असोज ३ गते अगावै संसद्को अधिवेशन अन्त्य गर्नेगरि सभामुख देवराज घिमिरेलाई काम गर्न आग्रह गरेको बताईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पनि काठमाडौं झिकाईएको चर्चा छ । यही सन्दर्भमा रवि लामिछानेबारे राईले तथ्य र प्रमाण सिआईबीसमक्ष बुझाउनेगरि तयारी भएको उच्च स्रोतको दाबी छ । रविलाई पक्राउ गर्न सकिए र माधव नेपालको दल विभाजन गरेलगत्तै वैकल्पिक गठबन्धन बन्न नसक्ने ओलीको बुझाई छ ।