Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस उपसभापति गुरुङ दम्पतीविरुद्ध अनुसन्धानको माग गर्दै जाहेरी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङनिकट स्रोतका अनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागज बनाएका छन् ।

ज्योति गुरुङ हाल नेपालमै नरहेको स्रोतले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।

यद्यपि समितिको छानबिनको टीओआरमा मितेरी सहकारी नपरेकाले यो विषय राज्यका अनुसन्धान गर्ने निकायमा पठाइएको एक सदस्यले बताए ।

मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ (केबी), बोधविक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ ।

बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७/७८ को लेखा परीक्षण विवरण बुझाएको छ । त्यसयता कुनै पनि विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड छ ।

बर्सेनि वार्षिक साधारण सभा नगरेका अर्थात् वार्षिक लेखा परीक्षण विवरण नबुझाएका अधिकांश सहकारी समस्यामा छन् । मितेरीले पनि विगत दुई आर्थिक वर्षको लेखा परीक्षण विवरण बुझाएको छैन ।

यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।

धनराज र ज्योति दुवैको नाममा ऋण निकालिएको र १४ करोड ८१ लाख रूपैया उनीहरूले बैंककमा ज्योति भण्डारीलाई पठाएको भने पनि अहिलेसम्म झुलाइरहेको अध्यक्ष कुम्भराजले नेपाल प्रेसलाई बताए । उनले आफूले यथार्थ विवरण संसदीय छानबिन समितिमा दिएको बताए । उनीसँग संसदीय छानबिन समितिले पनि बयान लिएको छ ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्