Logo
४ आश्विन २०८१, शुक्रबार
(September 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्रालयको निर्देशन

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै उनले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने समेत बताए । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायहरू बिच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरू नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा. पार्थमणि पराजुली, सरोकुमार प्रधान लगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरूले सडक सुरक्षाका लागि भई रहेका प्रयास र योजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति: Sep 8, 2024

प्रतिक्रिया दिनुहोस्