Logo
७ पुस २०८१, आईतबार
(September 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै(तस्बिरसहित)

काठमाडौ, भदौ २३ । टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन् ।

नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुणन्धतिसहित सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नि, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ । माकुरीसहित सप्तर्षिको पूजा गर्नाले मनोकांक्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ ।

काठमाडौँ महानगरपालिका–१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो । महिला भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन् ।

महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडक बत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ ।

महानगरपालिका-१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्ध वृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिए ।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ । रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक संघीसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छन् । प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ । मन्दिर परिसरमा भक्तजनले आ-आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 8, 2024

प्रतिक्रिया दिनुहोस्