Logo
४ आश्विन २०८१, शुक्रबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य र देशको छविमा प्रतिकूल असर गर्ने गाँजाखेतीतर्फ धेरै नहौसिनुस् : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँ–तिहारलगायत चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। साथै उनले पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने गाँजाखेतीजस्ता काममा धेरै नहौसिन पनि मन्त्रालयलाई सुझाएका छन्।

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्यवस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थमात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे।

“चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ‚’ उनले भने, ‘यस्ता विषयमा कुनै सम्झौता हुँदैन‚ कुनै भनसुन चल्दैन।”

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन, निर्यात बढाउन तथा  विषादीयुक्त खाद्यपदार्थ आयात–निर्यात नगर्न आग्रह गरे।

उनले नेपालमा फलाम, युरेनियमलगायत खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानान्तरण गर्न निर्देशन दिए।  उनले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन चाँडो सम्पन्न आग्रह गरे।

यसअघि प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ‘ब्रिफिङ’ लिएका थिए।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्