Logo
५ आश्विन २०८१, शनिबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो

 राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ। केन्द्रीय समिति बैठकबाट उनलाई कारबाही गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ। जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो।

महामन्त्री र प्रवक्ताबाट हटाएपछि साधारण सदस्यबाट पनि किन नहटाउने भनेर रास्वपाले दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो। तर ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न मात्र उठाएका थिएनन्, लामिछाने  ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई पठाएका थिए।

उक्त जवाफ स्पष्टीकरण नभई कुण्ठा ठहर गर्दैै रास्वपाले ढकाललाई साधारण सदस्यबाट पनि हटाएको हो। यसअघि २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।

ढकालले भने आफूलाई रास्वपाकै महामन्त्री दाबी गर्दै आएका छन्। उनले आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। तर ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन।

महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न छोडेका छैनन्।  यस्तै आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गरिएको छ।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्