Logo
५ आश्विन २०८१, शनिबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन, ‘ढुक्क भएर अगाडि बढ्नुस्, हिजो तपाईँहरुसँग समस्यामात्रै थियो, आज समाधान छ’

काठमाडौं, ७ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आवश्स्थ भएर अगाडि बढ्न आग्रह गरेका छन् । आज (शुक्रबार) नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई नआत्तिन आग्रह गरेका हुन् । निजी क्षेत्रसँग हिजोका दिनमा समस्यामात्रै भएपनि आज समाधान पनि सँगै रहेको बताए । उनले आत्मविश्वास लिएर अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गरे ।

‘म निजी क्षेत्रलाई आश्वस्थ पार्न चाहन्छु– साथीहरु तपाईँहरु नआत्तिनुस् । हिजोका पीडाजनक सम्झनाहरुबाट उद्धेलित नहुनुस् । अब तपाईहरुसँग समाधान छ । हिजो समस्या थियो होला, आज तपाईँसँग समाधान छ । तपाईँको साथमा बलियो सरकार छ । तपाईँको साथमा स्थितर नीति र समस्या बुझेको, समाधान दिनसक्ने सक्षम नेतृत्व छ । अब निजी क्षेत्रका समस्या समाधान हुन्छन् भन्ने आत्मविश्वास लिएर अगाडि बढ्न म आग्रह गर्न चाहन्छु,’– उनले भने ।

वर्तमान सरकारको एकमात्र उद्देश्य सबै प्रकारका निराशा चिर्ने र सबै नेपालीमा आशा र विश्वास जगाउने रहेको उनले बताए । निजी क्षेत्रको पीडा र चिन्तालाई समाधान गर्न सरकार अगाडि बढिरहेको उनले बताए । आगामी दिनमा निजी क्षेत्र गतिशील ढंगले अगाडि बढ्ने उनको दाबी छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएको एक महिनाभित्र अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढेको बताए । उनले नेपालको अर्थतन्त्र शिथिलताको स्थितिबाट बाहिर नस्किनसकेको भएपनि गत आर्थिक वर्षको साउन महिनामा संकलित भएको राजश्वको तुलनामा चालू आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले बृद्धि भएको बताए । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा पुँजीगत खर्च ९ गुणाले बृद्धि भएको, रियल स्टेटको क्षेत्रमा पनि सुधारको संकेत देखिएको र पुँजी बजार उत्साहित भइरहेको उनले बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेको एक महिना बितेको छ । समयावधिको हिसाबले एक महिना समय लामो भन्न मिल्दैन । यो छोटो अवधिमा पनि सकारात्मक संकेत देखा परिसकेको छ । यद्यपि हामीले प्रभावकारी प्रयास गर्न बाँकी नै छ । तर, सकारात्मक संकेत देखा परेको छ,’– उनले भने ।

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्