Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिन्छ : यातायातमन्त्री

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरुले सडक र भौतिक पूर्वाधारका विषयमा उठाएका प्रश्नको प्रश्नको जवाफ दिने क्रममा उनले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने प्रतिबद्धता जनाए।

भौतिक, पूर्वाधार र यातायतका विषयमा उठेका प्रश्नलाई उनले सकारात्मक सुझावका रुपमा लिएको बताउँदै वर्षातका कारण मन्त्रालयलाई काम गर्न केही कठिन भएको जानकारी गराए।

“अविरल वर्षासँगै आएको पहिरोले नागढुङ्गा खण्ड अवरुद्ध भएको थियो, उक्त पहिरो तत्काल पन्छाएर आवागमन नियमित सञ्चालन गर्न केही समस्या भयो। योबाहेक अन्य राष्ट्रिय राजमार्गमा भएको सडक अवरुद्ध दुई घण्टाभित्र हटाउन सफल भएका छौँ”, उनले भने।

सभाको आजको बैठकमा अधिकांश सांसदले हुलाकी राजमार्गअन्तर्गत धुनषा र सिरहाको दक्षिणी सिमानास्थित कमला नदीमा बन्दै गरेको पुल भासिएको अवस्थाबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

उक्त प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार र निर्माण व्यवसायीको बीमा विवादले पुनः निर्माण रोकिएको जानकारी गराए। उनले यो समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरेर यथाशीघ्र निकासा ल्याउने प्रतिबद्धता जनाए।

पुल निर्माणको मागसहित अनशनमा बसेका स्थानीयलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले भने, “अनशन बसेर समस्याको समाधान आउँदैन, सबै मिलेर छलफल गरौँ र समाधान निकालौँ।”

भौतिक मन्त्रालयमा फाइल थन्किएको छ भन्ने सांसदहरुको प्रश्नलाई मन्त्री दाहालले कर्मचारी व्यवस्थापन गरेसँगै कुनै पनि पुराना कामसम्बन्धी फाइल कार्यालयमा नरोकिने जानकारी दिए। उनले आगामी असोजसम्म भौतिक निर्माणसम्बन्धी सम्पूर्ण ठेक्काहरु लागू गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताए।

“बर्खाको समय भएकाले केही काममा ढिलाइ र केही काम अवरुद्ध भएका छन्”, उनले भने, “आगामी असोजसम्ममा सम्पूर्ण ठेक्काहरु सुरु गरिसक्छौँ।”

 

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्