Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एशियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एशियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छन्।

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्त रूपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन्।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा. राणाले भनिन्, ‘जलवायु परिवर्तन अहिले यो क्षेत्रको प्रमुख समस्या भएको छ। दक्षिण एशियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन्। ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धाता एवं प्राज्ञले संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ।’

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा. अग्रवालले विश्वविद्यालयका क्रियाकलापका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। उक्त विश्वविद्यालय दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वविद्यालयका पदेन कुलपति रहने व्यवस्था छ।

नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन्। मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पनि भेट गरेका थिए।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणा आज अपराह्न स्वदेश फकँदै छिन्।

 

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्