Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन् । बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देशबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए ।

उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । उनले स—साना पुँजीले अलि ठुला कामहरू गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैरसहकारी तत्त्वहरू केही सहकारीमा प्रवेश गरे । सहकारी अचानक ठुला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्त्वहरू त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरुको व्यापक नेटवर्क बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए । उनले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभई माध्यम भएको बताए । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताए । उनले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्