Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभामा प्रतिवेदनसहित पेश हुँदै स्थानीय सेवा ऐनको विधेयक

दाङ– लुम्बिनी प्रदेशसभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदनसहित पेश हुने भएको छ। बुधवार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौंथो अधिवेशनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

यो विधेयक बैशाख ३० गते प्रदेशसभामा पेश भएको थियो। दफावार छलफलका लागि प्रदेशसभाले प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। विधेयकभित्र स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन महिनावारी बिदा लिन पाउने व्यवस्था राखिएको छ। प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो विषय राखिएको थियो।

यस्तै, स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ। हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्