Logo
५ आश्विन २०८१, शनिबार
(August 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थामे बाढी: पीडितले खाद्यान्न मागेका थिए, सिरक र तन्ना बोकेर सल्लेरी पुग्यो कोशी सरकारको जम्बो टोली

सोलुखुम्बुको थामेका बाढी पीडितलाई राहत दिन कोशी प्रदेश सरकारको जम्बो टोली सदरमुकाम सल्लेरी पुगेको छ । पीडितले मागको भन्दा फरक सामग्री लिएर कोशी सरकारका दुई मन्त्रीसहित १४ जनाको जम्बो टोली राहत वितरणका लागि सदरमुकाम सल्लेरी पुगेको हो ।

५० थान सिरक, ५० थान मेट्रेस र ५० थान तन्ना लिएर कोशी सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लव अधिकारी र खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको टोली सोलुखुम्बु गएको हो ।

१४ जनाको टोलीमा मन्त्रीहरूसँगै सुरक्षाकर्मी, चालक, कर्मचारी, सचिवालयका प्रतिनिधि र एमाले कार्यकर्ता रहेको स्रोतले बतायो ।

प्रदेशका दुई जना मन्त्रीले सोमबार बिहान ती सामग्री सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)लाई हस्तान्तरण गरेका छन् ।

साउन ३२ गते हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा भीषण बाढी गएको थियो । बाढीपछि संघ र प्रदेश सरकारसँग जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले राहत माग गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले भने पीडितका लागि खाद्यान्नसहित अति आवश्यक वस्तु सहयोग गर्न पत्राचार गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले भने माग बमोजिमका सामग्री उपलब्ध हुन नसकेको बताइन् । ‘पीडितलाई तत्काल चाहिने र अति आवश्यक वस्तु माग गरिएको थियो,’उनले भनिन्, ‘आएका सामग्री हामी पठाउँछौं ।’ सेनाको हेलिकप्टबाट राहत पठाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

मन्त्री अधिकारीले सदरमुकामबाट थामेका बाढी पीडित भएको ठाउँमा पुग्न ५ दिन लाग्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बुझाएर फर्केको बताए । ‘मौसम खराब भएका कारण हामीले राहत सामाग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छौं,’ उनले भने । खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री  कार्की भने अनुगमनका लागि गएको उनले दाबी गरे ।

भदौ २ गते बसेको कोशी प्रदेश सरकारको मन्त्रीस्तरीय बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका बाढी पीडितलाई राहत सामाग्री वितरण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Aug 20, 2024

प्रतिक्रिया दिनुहोस्